गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा आज पनि बहस



चितवन, १० असोज । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनमा आइतबारदेखि सुरु भएको बहस आज पनि जारी रह्यो ।

प्रतिवादीका तर्फबाट आज अधिवक्ता धर्मराज आचार्य, केशवप्रसाद गौतम, गोपीलाल देवकोटा, प्रकाश महर्जन, ज्ञानेन्द्र नेपाल, रमेश मैनाली, दीनमणि पोखरेल र भोजराज सुवेदीले बहस गर्नुभयो । बाँकी रहनुभएका अधिवक्ताले मङ्गलबार बहस गर्ने अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिनुभयो ।

आइतबार वादी सरकारका तर्फबाट दुई जना र जाहेरवालाका तर्फबाट सात जनाको बहस सम्पन्न भएको थियो । बरालका अनुसार वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र उदयचन्द्र अधिकारीले तथा जाहेरवालाका तर्फबाट अधिवक्ता गोपालकृष्ण घिमिरे, इन्द्र अर्याल, ओमप्रकाश अर्याल, आशिकराम कार्की, बाबुराम गिरी, काशीराम ढुङ्गाना र पुण्यराज पौडेलले बहस गर्नुभएको थियो ।

बहस समाप्त भएपछि इजलासले थप प्रमाण बुझ्न आवश्यक भए थप प्रमाणका लागि आदेश दिने र आवश्यक नभए फैसला गर्ने सूचना अधिकारी बरालले बताउनुभयो । उक्त मुद्दा न्यायाधीश टेकनारायण कुँवरको इजलासमा छ ।

यसअघि यही असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामायासँग बकपत्र गरी अदालतमा प्रतिवेदन सहित पेस गरिसक्नुभएको छ ।

सशस्त्र द्वन्द्वका समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएका बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यसपछि कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिनुभएको थियो । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको तथा विष्णु तिवारी फरार हुँदै आएको बताइएको छ । सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि अभियुक्त छविलाल पौडेल समेत फरार छन् ।

अदालतले सीता अधिकारी, जानुका लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको थियो भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेललाई प्रतिव्यक्ति रु २७ हजार धरौटी राखेर तारेखमा छाडेको थियो ।

सप्तकोशी डुङ्गा दुर्घटनाः क्षमताभन्दा बढी यात्रु तथा सामग्री बोकेका कारण



इनरुवा, १० असोज । क्षमताभन्दा बढी यात्रु तथा सामग्री रहेकाले सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा परेको प्रतिवेदन सार्वजनिक भएको छ ।

सुनसरीको प्रकाशपुर गाविसस्थित सप्तकोसीमा यही असोज १ गते भएको डुङ्गा दुर्घटनाबारे छानबिन गर्न गठित समितिले आज सार्जजनिक गरेको प्रतिवेदनमा अत्यधिक यात्रु र सामग्री, पहाडमा पानी परेको कारण कोसी नदीमा आएको बाढी, पूर्वसावधानी तथा सुरक्षाका सामान्य उपाय नअपनाउनु लगायत कारणले दुर्घटना भएको उल्लेख छ ।

प्रतिवेदन अनुसार डुङ्गा चालक परिपक्व नहुनु र उनले मापसे गरी चलाउनु लगायत कारणले दुर्घटना भएको हो । सो दिन श्रीलङ्का टापुबाट प्रकाशपुर आउने क्रममा कोसीको मूल भँगालामा डुङ्गा दुर्घटना हुँदा नौ जना अझै बेपत्ता छन् भने ५४ जनाको जीवितै उद्वार गरिएको थियो ।

घटनालगत्तै दुर्घटनाको छानबिन गरी अल्पकालीन र दीर्घकालीन समस्या समाधानको सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न सुनसरीका सहायक प्रजिअ कमलबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । प्रजिअ मोहन चापागाईँले समितिबाट निकै उपयोगी र कार्यान्वयनयोग्य सुझाव आएको बताउनुभयो ।





महिनामा १५ लाखको कस्तो खाना खान्थे केपी ओली ? (खर्च विववरणसहित)



काठमाडौं, असोज १० । पूर्व प्रधानमन्त्री ओलीले एक महिनामा १५ लाखको खाना खाएको सार्वजनिक भएपछि उनले कस्तो खाना खान्थे त ? भन्ने प्रश्न समेत जन्मेको छ ।
केही मिडियाले पूर्व प्रधानमन्त्री ओलीको मासिक खर्चको विवरण सार्वजनिक गरेपछि खाना समेत अनियमितता त भएको थिएन ? भन्ने प्रश्न समेत उठेको हो ।



पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नौ महिने कार्यकालमा १ करोड ३४ लाख खर्च गरेका थिए । औषतमा १५ लाख जति खानामा खर्च खर्चको अभिलेख हेर्दा कतिपय महिनामा २५ लाखसम्म खर्च गरेको खुल्न आएको समाचारमा उल्लेख छ ।

त्यसो भए १५ लाखको के खान्थे त ओली ? त्यसो त पूर्व प्रधानमन्त्री ओली आफू भने मृगौलाको उपचार गराएर बसेका व्यक्ति हुन ।

सामान्यतः प्रधानमन्त्री कार्यालयमा पाहुन सत्कारका लागि केही लाख खर्च हुनु स्वभाविकै हो । तर प्रचण्डको पहिलो ५० दिनको खर्च र ओलीको औसत खर्च हेर्दा यो अस्वभाविक देखिन्छ । प्रचण्डको भन्दा ओलीले झण्डै ७ सय प्रतिशत बढी खानामा खर्च गरेका छन् । प्रचण्डले आफ्नो ५१ दिनको कार्यकालमा २ लाख ३१ हजार मात्रै खर्च गरेको श्रोतले बताएको छ ।
ओलीको प्रधानमन्त्री कालमा गरेको खर्चको भुक्तानी तिर्न अहिले पनि प्रधानमन्त्री कार्यालयमा बिल आउने गरेका छन् ।

पूर्व प्रधानमन्त्री ओलीले सनकको भरमा मानिसहरु बोलाएर भोज खुवाउने गरेकोले पनि बिल बढी आएको कतिपयको टिप्पणी छ । “भोजमा गरेको खर्चका बिलहरु अहिले पनि आइरहेका छन् । कसरी भुक्तानी गर्ने ? हामी आफै अप्ठ्यारोमा परेका छौं ।” प्रधानमन्त्री कार्यालयका कर्मचारी भन्छन्, “हालैमात्र भोज र गाडी मर्मतको नाममा ११ लाखको बिल अहिले प्रधानमन्त्री कार्यालयमा पेस भएको छ ।”

ओलीले सोल्टी होटल, अन्नपूर्ण होटल, बुद्धनारायण खाद्यान्न सप्लायर्स, अनमोल क्याटरिङमा गरेको खर्च निकै अस्वाभाविक देखिन्छ । तथ्याङ्क हेर्दा जतिसुकै सुशासनको कुरा गरे पनि ओलीको कार्यकालमा राज्य कोषको चरम दुरुपयोग भएको कर्मचारीहरु नै बताउँछन् ।



साभार एभरेष्ट दैनिक बाट



संविधान कार्यान्वयन जटिल बन्दै — काँग्रेस नेता पौडल



नेपालगञ्ज, १० असोज- नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संक्रमण यथावत् रहेकाले संविधान कार्यान्वयनको अवस्था निकै जटिल रहेको बताउनुभएको छ । कैलाश मानसरोवर तीर्थयात्रामा जाने क्रममा आज नेपालगञ्जमा कार्यकर्तालाई सम्बोधन गर्दै मधेशी दलले पनि संविधानलाई नस्वीकारेको र संविधानले नै व्यवस्था गरेको स्थानीय तह, प्रादेशिक र केन्द्रीय तह पुनःसंरचनाको कुरा पनि लथालिंग भएकाले संविधान कार्यान्वयनको अवस्था निकै जटिल रहेको बताउनुभयो । राष्ट्रका समस्या समाधान गर्ने भन्दा पनि सत्ताको खेल बढी हुन थालेको भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो । संविधानको सहज र शिघ्र कार्यान्वयनका लागि दलीय एकतामा उहाँले जोड दिनुभयो । संविधान कार्यान्वयन, स्थानीय निकाय र सरकार सञ्चालनका विषयमा पार्टीको आधिकारिक धारणा बाहिर आउनुपर्ने पौडेलको भनाई छ । पटक–पटक केन्द्रीय समिति बैठक बोलाउन आफूहरुले सम्झाईरहे पनि पार्टी सभापतिले त्यसो नगरेको उहाँले बताउनुभयो । संविधान संशोधनका विषयमा बजारमा धेरै कुरा आएको बताउँदै पौडेलले यसमा नेपाली काँग्रेसले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताउनुभयो । पार्टी सभापतिको कार्यशैलीले काँग्रेस आलोचित भएको पौडेलेको आरोप छ । 

हाल बन्द रहेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी



काठमाडौँ, १० असोज । हाल उत्पादन बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सरकारले पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी गरेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज लिमिटेडमा रहेका उपकरण र पूर्वाधारको निरीक्षण गरी तीन महिनाभित्र पहिलो चरणमा आठ प्रकारका औषधि उत्पादन गरिने जानकारी गराउनुभयो । निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले लिमिटेड पुनः सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्दै भन्नुभयो, “भौतिक र प्राविधिक पक्षको सुधार गरेर तीन महिनाभित्र कच्चापदार्थ ल्याउछौ, त्यसपछि उत्पादन गर्छौं ।”

हाल सरकारले अतिआश्यक ७० प्रकारका औषधि विभिन्न कम्पनीबाट किनेर निःशुल्क वितरण गरिरहेको छ । मन्त्री जोशीले ती औषधि उत्पादन गर्न सके लिमिटेड दिगो हुने बताउँदै निजी क्षेत्रलाई असर नपार्ने गरी बाहिरभन्दा बढी गुणस्तरीय र कम मूल्यमा उत्पादन गर्न सक्ने क्षमता छ भन्नुभयो । लिमिटेड पूर्ण क्षमतामा सञ्चालन हुन केही समय लाग्ने भएकाले नयाँ उपकरण ल्याउँदै उत्पादन थप्दै जाने र एक वर्षसम्ममा ४८ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

मन्त्री जोशीले औषधि लिमिटेड मात्र नभई बन्द भएका अन्य सार्वजनिक उद्योग पनि सञ्चालनका लागि पहल गरिहेको जानकारी गराउँदै भन्नुभयो, “यसको विस्तृत अध्ययन गर्न विज्ञ सम्मिलत टोली गठन गरेका छौँ ।” निजी क्षेत्रलाई पनि संलग्न गराउन सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालन गरिने उहाँको धारणा थियो । मन्त्रालयले औषधि लिमिटेड सञ्चालनमा निजी क्षेत्रलाई २० देखि ३३ प्रतिशतसम्म सेयर दिने तयारी गरेको छ ।

लिमिटेडका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले मुलुक र लिमिटेडका कर्मचारीका लागि उत्पादन सुरु गर्नु अपरिहार्य रहेको बताउँदै निकट भविष्यमा उत्पादन सुरु हुने अपेक्षा व्यक्त गर्नुभयो । “सरकारले यसमा विशेष चासो देखाएकाले कच्चापदार्थका लागि इजाजत पाउनासाथ १५ दिनमै उत्पादन सुरु गर्न सक्छाँै, सबै उपकरण चालु हालतमा छ ।” उहाँले भन्नुभयो ।

विसं २०२९ असोज १ गते स्थापना भएको औषधि लिमिटेडले कुनै बेला १२५ प्रकार औषधि उत्पादन गर्दथ्यो । आर्थिक वर्ष २०६७/६८ बाट लिमिटेडको उत्पादन पूर्ण रुपमा बन्द छ । हाल ९६ जना कर्मचारी रहेको लिमिटेडले गत असारमा मात्र १२२ जना कर्मचारीलाई स्वेच्छिक अवकाशमार्फत बिदा गरेको थियो । सरकारले यसका लागि रु २८ करोड ५८ लाख बजेट दिएको थियो ।

लिमिटेडका निमित्त महाप्रबन्धक रमेशकुमार महतो प्रजातन्त्रको पुनः स्थापनापछि सरकारले अपनाएको आर्थिक उदारीकरण र निजीकरणपछि लिमिटेड धराशायी हुँदै गएको अनुभव सुनाउनुहुन्छ । “राजनीतिक उथलपुथलले काम गर्ने वतावरण भएन, यसमा सरकारको उचित ध्यान पनि पुग्न सकेन”, उहाँले गुनासो गर्नुभयो । लिमिटेडले हाल गिलिसिरिन र डिस्टिलर वाटर मात्र उत्पादन गरिरहेको छ ।

‘शीतविन्दु’को नयाँ कवितासङ्ग्रह ‘बिना सालिकका नायकहरु’



काठमाडौँ, १० असोज – ‘न चुराहरु फुटी जान्छन् न बज्छ चुराको सङ्गीत न सिउँदो मेटिन्छ मेरो न उम्रिन सक्छ सिन्दुरको लहरा ’ सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका आफ्ना श्रीमान्को खोजी र प्रतीक्षामा एक महिलाले व्यहोरेको पीडालाई नजिकबाट देखेपछि शीतविन्दुको कलमले त्यसलाई ‘बिना अनुहारको रात’ शीर्षक कवितामा उता¥यो । पञ्चायत, द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्मका विभिन्न कालखण्डमा एक साहित्यकार र राजनीतिज्ञका रुपमा समयको साक्षी बनेका शीतविन्दु तेस्रो कविता कृति ‘बिना सालिकका नायकहरु’ ले त्यस्तै पात्र र प्रवृत्तिलाई उठाएको छ । पुस्तकका ती पात्र र सवाल कुनै इतिहासको अभिलेखका पानामा भेट्न सकिँदैन ।

प्रदीपकुमार ज्ञवाली तिनै शीतविन्दु हुनुहुन्छ जसका यसअघि कवितासङ्ग्रह ‘चिता जलिरहेछ’ (२०५३) र ‘आस्था ओ मेरी प्रिया’ (२०५९) र सहयात्री उपन्यास प्रकाशन भए । त्यसो त ज्ञवालीको पञ्चायतकालको भूमिगत नाम ‘सुबोध’ र ‘सागर’ पनि थियो तर साहित्यमा ‘शीतबिन्दु’ लेख्नुहुन्थ्यो । अन्य विधामा एक दर्जन पुस्तक लेखिसक्नुभएका ज्ञवालीको खास नामबाट प्रकाशित ‘बिना सालिकका नायकहरु’ लाई केही कविताको मञ्चनसहित यहाँ आज आयोजित कार्यक्रमबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री ओलीले ‘बिना सालिकका नायकहरु’ को विम्बको प्रशंसा गर्दै आफूले एक पटक तत्कालीन राजासँगको भेटवार्तामा इतिहासमा नाम नलेखिएका सङ्घर्षशील नागरिकको प्रसङ्ग उठाएको स्मरण सुनाउनुभयो । “आन्दोलनमा जनता अगाडि हुन्थे, उनीहरु कतिपय मारिए, बेनाम भए, मौसुफका पुर्खा पछाडि हुन्थ्यो र आफ्नै इतिहास लेख्यो”– उहाँले भन्नुभयो, “इतिहासका नक्कली नायकहरु सक्कली नायकका नाम, काम र सालिकसँग पनि डराउँछन् ।”

प्रतिकूल अवस्थामा पनि खतराको सुइरामा टेकेर ज्ञवालीले सुमधुर कविता लेख्न सकेको जनाउँदै अध्यक्ष ओलीले रसिलो र खँदिलो कृति दिएर समाजलाई गुण लगाएकामा धन्यवाद दिनुभयो । कवि ज्ञवालीले आफूलाई कुनै पात्र र समस्याले घोचेपछि मात्रै कविता लेख्ने गरेको जनाउँदै मुलुक बनाउन सङ्घर्ष गर्ने तिनै पात्रलाई नायक बनाएर कविता लेखिएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ कृतिमा ‘शीतबिन्दु’ नयाँ संस्करणका साथ उपस्थित भएको बताउँदै कृतिले सामाजिक चेतना निर्माणमा उल्लेख भूमिका खेल्ने बताउनुभयो । संस्कृतिविद् तथा कवि तुलसी दिवसले कवितामा राजनीतीकरणभन्दा राजनीतिमा कविता भएको आफूले देख्न चाहेको भन्दै ज्ञवालीका कवितामा विचार र कला पक्षको सघनता भएको टिप्पणी गरिरहँदा समालोचक निनु चापागाइँले भने पुस्तकका विचार पक्ष बढी भएको र इतिहासका सबै अभिलेखको झलक आउन नसकेको प्रतिक्रिया दिनुभयो ।
कवि विप्लव ढकाल र डा विन्दु शर्माले पुस्तकमाथि समीक्षा गर्दै ‘बिना सालिकका नायकहरु’ ले सीमान्तकृत समुदायको आवाजलाई बुलन्द गरेको टिप्पणी गर्नुभयो । नवस्थापित सिमल बुक्सले प्रकाशन गरेको १४५ पुष्ठको सो सङ्ग्रहमा ४७ कविता छन् । रासस

सेवाग्राहीसँग घुस लिँदालिँदै थलामै पक्राउ परे इन्जिनियर

असोज १० गते- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १० हजार घुस लिँदै गर्दा थलामा नै पक्राउ परेका मोरङस्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर चन्देश्वरी यादवविरुद्ध आजै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । टङ्कीसिनवारी गाविस–२ स्थित महिला समन्वय समितिको भवन निर्माण गर्न निकासा भएको रकम लिन जाँदा इन्जिनियर यादवले सेवाग्राहीसँग रु १० हजार घुस लिँदालिँदै आयोग टोलीले समातेको थियो ।