चिनियाँ राष्ट्रपति स्वयंले छिट्टै उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्न लागेको बताएकाले अब यो विषयमा कुनै सन्देह रहेन–परराष्टमन्त्री महत
12:43 AM
Loading...
एजेन्सी। परराष्टमन्त्री डा प्रकाशशरण महतले क्षेत्रीय सङ्गठन बिमस्टेक मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालका राष्टिय हित र स्वार्थलाई समावेश गर्ने महत्वपूर्ण अवसरका रुपमा ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनलाई उपयोग गर्न सकिने बताएका छन् ।सम्मेलनमा बिमस्टेक(बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लािग बङ्गालको खाडीको प्रयास) देशबीचको सम्पर्कलाई नेपालले विशेष जोड दिएको र सम्मेलनले ब्रिक्स(ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) र बिम्टेकबीच सहकार्य गर्न मार्गप्रशस्त गरेको मन्त्री डा महतले बताए । नेपाल बिमस्टेक राष्ट्रको अध्यक्ष भएको नाताले यसको आगामी सम्मेलन नेपालमा आयोजना गर्ने र क्षेत्रीय संरचनालाई बलियो बनाउने विषयमा पनि छलफल हुने उनले बताए । भारत र चीनका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटी सम्बन्ध विस्तार तथा सम्मेलनमा सहभागी अन्य मुलुकका प्रमुखसँगको द्विपक्षीय भेटवार्ताले पनि द्विपक्षीय सम्बन्धलाई विकसित गर्न सहयोग पुगेको मन्त्री डा महतले उल्लेख गरे ।
उनका अनुसार सम्मेलनबाट जारी हुने संयुक्त घोषणापत्रमा बिमस्टेकलाई सशक्त र विकसित गर्ने, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, भूपरिवेष्ठित मुलुकको समस्या, आतङ्कवादविरुद्ध संयुक्त रुपमा सामना गर्ने, गरिबी कम गर्ने, पर्यटन प्रवद्र्धन लगायत विषय समेटिन सक्छ ।सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने उनको भनाइ छ । प्रधानमन्त्रीबाट सम्मेलनमा देशका तर्फबाट व्यक्त हुने धारणा र सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुखसँग हुने छुट्टै भेटघाटले नेपालको दृष्टिकोण अवगत गराउन र ती मुलुकसँगको सम्बन्ध विस्तार गरी मुलुकको विकासमा कसरी लगाउन सकिन्छ भन्ने अवसरलाई बढीभन्दा बढी सदुपयोग गरिने परराष्ट्रमन्त्री डा महतले बताए ।
मन्त्री डा महतले चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार गरेको भेटवार्तापछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण छिट्टै हुने सुनिश्चितता दिएको बताए । चिनियाँ राष्ट्रपतिको भ्रमण हुन्छ, हुँदैन भनी अनेक आशङ्का भइरहेका बेला राष्ट्रपति स्वयम्ले “छिट्टै आफूले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्न लागेको बताएकाले अब यो सन्देह रहेन । उनको भ्रमण छिट्टै हुनेमा म पूर्णतः विश्वस्त छु”, परराष्ट्रमन्त्री डा महतले भने । भेटका बेला दुई नेताबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले विगतमा चीन सरकारसँग भएका सम्झौताको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको परराष्ट्रमन्त्री डा महतले बताए ।
चिनियाँ राष्ट्रपतिले नेपालको आन्तरिक एकतालाई मजबुत बनाएर जारी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएको उनले जानकारी दिए । भुटानी प्रधानमन्त्रीसँगको भेटमा पनि प्रधानमन्त्री दाहालले वर्षौँंदेखि अल्झिएर रहेको शरणार्थी समस्या तत्काल समाधान गरी सम्बन्धलाई नयाँ ढङ्गबाट अगाडि बढाउन गरेको अनुरोधलाई भुटानी पक्ष सुरुमा त्यति सकारात्मक नभए पनि पछि नेपालले जोडदार रुपमा कुरा राखेको जानकारी परराष्ट्रमन्त्रीले दिए ।
0 comments