लामो रस्साकस्सी पछि देउवाले बिहिवार केन्द्रीय कार्यसमिति बैठक बोलाए, होला त अब बाँकी पदाधिकारी मनोनयन ?
12:27 AM
Loading...
काठमाडौ, २ कात्तिक । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बिहीबार बोलाएपछि पदाधिकारी प्रस्ताव हुने सम्भावना बढेको छ । पदाधिकारी मनोनयनका विषयमा धेरै टीकाटिप्पणी उठ्न थालेपछि देउवा तत्कालका लागि उपसभापति थाँती राखेर महामन्त्री र सहमहामन्त्रीको मनोनयन प्रक्रिया अघि बढाउने तयारीमा जुट्नुभएको स्रोतको भनाईछ । उपसभापतिमा विमलेन्द्र निधि र खुमबहादुर खड्काको मुख्य दाबी रहँदै आएको छ । देउवा निधिलाई उपसभापति बनाउने पक्षमा रहनुभएको छ ।
तर, आफूलाई उपसभापति बनाउन दबाब दिँदै आएका खड्काले उपसभापति थाँती राखेर महामन्त्री र सहमहामन्त्रीको मात्रै मनोनयन प्रक्रिया स्वीकार नगर्ने चेतावनी दिदै आउनुभएको छ । जसका कारण पदाधिकारी मनोनयन प्रक्रिया तत्काल अघि नबढ्ने करिब निश्चित भएको हो ।
सभापतिले प्रस्ताव गर्ने पदाधिकारीलाई निर्वाचित केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्छ । खड्काका पक्षमा ५ निर्वाचित सदस्य छन् । केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग २८ र देउवासँग ३१ निर्वाचित सदस्य छन्
कांग्रेसमा पदाधिकारी मनोनयनमा ढिलाइ हुनुका साथै केन्द्रीय कार्यसमिति, विभाग र अन्य समितिले समेत पूर्णता पाएका छैनन् । विधानले पार्टीका विभाग र समितिलाई दुई महिनाभित्रै पूर्णता दिनुपर्ने व्यवस्था गरेको छ । तर, देउवा सभापति निर्वाचित भएको ७ महिना बितिसकेको छ ।

![]() |
0 comments