आन्तरिक पर्यटकको गन्तव्य बन्दै मनाङ
11:37 PM
Loading...
लमजुङ (बेसीसहर), २ कात्तिक । हिमालपारीको जिल्ला मनाङ आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । जिल्लामा मोटरबाटो बनेपछि आन्तरिक पर्यटक सवारी साधनबाट आउने क्रम बढेको हो ।बिदा मनाउन र घुमघाम गर्नका लागि युवायुवती मोटरसाइकल तथा अन्य सार्वजनिक सवारीसाधन चडेर मनाङसम्म आउने आन्तरिक पर्यटक बढिरहेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए ।“मनाङमा अहिले दैनिक काठमाडौँ, पोखरा, बुटवल, चितवन, पाल्पालगायतका स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन्” गुरुङले भने “सवारी सञ्चालनमा आएपछि लमजुङबाट पनि मनाङ घुम्न जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।”
माथिल्लो मनाङसम्म मोटरसाइकलमा पुग्न सकिने भएपछि गन्तव्य मनाङ बनाएर अधिकांश आन्तरिक पर्यटक आएको गुरुङले बताए । पछिल्लो समय मनाङमा पुगेका पर्यटक सजिलै तिलिचो तालसम्म पुग्ने गरेका छन् ।“धेरैजसो आन्तरिक पर्यटक तिलिचो जानका लागि आएका छन्, केही चाँहि थोरङला पनि गएका छन्” गुरुङले भने । सडक सञ्जालले मनाङमा पर्यटकको आगमन घट्ने अनुमान गरिए पनि पछिल्लो समय आन्तरिक पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । दैनिकजसो विदेशी तथा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
“सडक बनेपछि पैदलयात्री आउँदैनन् कि भन्ने धेरैको अनुमान थियो” गुरुङले भने “तर अहिले आन्तरिक पर्यटकको ओइरो लागेको छ ।” विश्व प्रसिद्ध थोराङला पासको लागि जाने पर्यटक हिमाली जिल्ला मनाडमा कम्तीमा दुई दिनसम्म बस्ने गर्दछन् । सिजनमा दैनिक २०० को हाराहारीमा आउने पर्यटकबाट स्थानीय व्यवसायीले राम्रै आम्दानी गर्ने गरेका छन् ।
हिउँ पर्ने र चाक्ला जग्गा जमिन नभएकाले मनाङमा अन्य खेतीपाती हुँदैन । मनाङको मुख्य बाली भनेको फापर, आलु नै हो । त्यसैले त्यहाँका तीन प्रतिशत मानिस मात्रै कृषि पेसामा छन् । मुख्य पेसाका रुपमा मनाङका नागरिकले पर्यटन व्यवसायलाई नै रोजेका छन् । मनाङका ८० प्रतिशत नागरिक पर्यटन व्यवसायमा लागेको बताइन्छ ।

![]() |
0 comments