गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा आज पनि बहस

9:02 AM

Loading...


चितवन, १० असोज । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनमा आइतबारदेखि सुरु भएको बहस आज पनि जारी रह्यो ।

प्रतिवादीका तर्फबाट आज अधिवक्ता धर्मराज आचार्य, केशवप्रसाद गौतम, गोपीलाल देवकोटा, प्रकाश महर्जन, ज्ञानेन्द्र नेपाल, रमेश मैनाली, दीनमणि पोखरेल र भोजराज सुवेदीले बहस गर्नुभयो । बाँकी रहनुभएका अधिवक्ताले मङ्गलबार बहस गर्ने अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिनुभयो ।

आइतबार वादी सरकारका तर्फबाट दुई जना र जाहेरवालाका तर्फबाट सात जनाको बहस सम्पन्न भएको थियो । बरालका अनुसार वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र उदयचन्द्र अधिकारीले तथा जाहेरवालाका तर्फबाट अधिवक्ता गोपालकृष्ण घिमिरे, इन्द्र अर्याल, ओमप्रकाश अर्याल, आशिकराम कार्की, बाबुराम गिरी, काशीराम ढुङ्गाना र पुण्यराज पौडेलले बहस गर्नुभएको थियो ।

बहस समाप्त भएपछि इजलासले थप प्रमाण बुझ्न आवश्यक भए थप प्रमाणका लागि आदेश दिने र आवश्यक नभए फैसला गर्ने सूचना अधिकारी बरालले बताउनुभयो । उक्त मुद्दा न्यायाधीश टेकनारायण कुँवरको इजलासमा छ ।

यसअघि यही असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामायासँग बकपत्र गरी अदालतमा प्रतिवेदन सहित पेस गरिसक्नुभएको छ ।

सशस्त्र द्वन्द्वका समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएका बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यसपछि कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिनुभएको थियो । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको तथा विष्णु तिवारी फरार हुँदै आएको बताइएको छ । सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि अभियुक्त छविलाल पौडेल समेत फरार छन् ।

अदालतले सीता अधिकारी, जानुका लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको थियो भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेललाई प्रतिव्यक्ति रु २७ हजार धरौटी राखेर तारेखमा छाडेको थियो ।

You Might Also Like

0 comments