­
­

मागेको सूचना नदिए आयोगले दण्ड गर्छ : प्रमुख आयुक्त बाँस्कोटा

7:50 AM

Loading...



काठमाडौं, ११ असोज । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले मागेको सूचना तोकिएको समयभित्र उपलब्ध नगराउने कर्मचारी कारबाहीको भागेदार हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय सूचना अधिकार दिवसको अवसरमा फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले संविधानको धारा २७ मा नै सूचनाको हकको स्पष्ट व्यवस्था भएको भन्दै मागेको सूचना उपलब्ध नगराउनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । प्रमुख आयुक्त बाँस्कोटाले “सूचना अधिकारी तोकिएपछि सूचना दिने उसको कर्तव्य हो, सूचना नदिए आयोगमा खबर गर्नुहोस्, आयोगले त्यसलाई कारबाही गर्छ” भन्दै उनले सूचना अधिकारीको सेवा र सुविधाका लागि आयोगले सरकारसँग छलफल समेत गरेको जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले सूचना माग्नु र लिनु मानव अधिकार भएको उल्लेखगर्दै कुनै पनि कार्यालयले नागरिकलाई सहज सूचना उपलब्ध गराउनुपर्ने बताए । “जहाँ सूचना लुकाउने काम गरिन्छ त्यो मुलुकले विकास गर्न सक्दैन” भन्दै उनले सूचना माग्ने संस्कृति निर्माण गर्न सबै जागरुक हुनुपर्ने बताए ।

नागरिक समाजका प्रतिनिधि विष्णुपुकार श्रेष्ठले अरुले सूचना थाहा पाए सबै बिग्रन्छ भन्ने मनस्थितिका कारण सूचनाको हक अगाडि बढ्न नसकेको बताउँदै ढिलै भएपनि जनताले सूचनाको खोजी गरेको धारणा राखे । सूचनाका हकका अभियन्ता डा रामकृष्ण तिमल्सिनाले जनताले खोजेको सूचना नपाएको कारण जनता दास भएको बताउँदै सबै जनतालाई सूचनाको हकको बारेमा जागरुक गर्नुपर्ने आवश्यकता औल्याए । सरकारले सूचना दिने संस्कारको विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

वरिष्ठ पत्रकार एवम् फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हक सम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको अधिकार जनताले नपाएकोमा चिन्ता व्यक्तगर्दै सूचनाको अभ्यासलाई प्रवद्र्धन गर्न सके मात्र मुलुकको विकास र समृद्धि हुने बताए । रासस







You Might Also Like

0 comments