संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन एमालेले देशव्यापी अभियान सञ्चालन गर्ने

8:52 AM

Loading...


काठमाडौँ, ११ असोज । संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन नेकपा (एमाले)ले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकारसम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान कार्यान्वयन गर्न चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ सञ्चालन गर्ने बताउनुभयो ।

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नाराका साथ एमालेले कात्तिकदेखि माघ महिनासम्म अभियान सञ्चालन गर्नेछ । संविधान कार्यान्वयन गर्न ढिलासुस्ती भएकाले जनदबाब दिनका लागि अभियान सञ्चालन गर्न थालिएको उहाँले जानकारी गराउनुभयो ।

अभियानका क्रममा एमालेले संविधानका मुख्य विशेषता र पार्टीले संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिकाका सम्बन्धमा जनतालाई स्पष्ट पार्ने उहाँले बताउनुभयो । “हाम्रो पार्टीको नेतृत्वदायी भूमिकामा जारी भएको संविधान कार्यान्वयन हुन नदिनका लागि अहिले पनि अनेकौँ दुष्प्रयास जारी छन्”, उहाँले भन्नुभयो–“त्यसैले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन र संविधान कार्यान्वयन गर्नका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्नका लागि अभियान सञ्चालन गर्न थालेका हौँ ।”

अभियानकै क्रममा एमालेले आफ्नो नेतृत्वको सरकार विस्थापनपछि सुरु भएको राजनीतिक धारले उत्पन्न राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएको उदासीनता, अन्तर्राष्ट्रिय सम्बन्धमा वर्तमान सरकारका असन्तुलित नीति एवम् तिनले नेपालको राष्ट्रियतामा पार्ने असरबारे जनतालाई जानकारी गराउनेछ ।

अभियानका क्रममा एमालेले कात्तिक १५ गतेभित्र प्रदेश सङ्गठन कमिटी, जिल्ला कमिटी तथा मोर्चा आबद्ध जनसङ्गठनको बैठक गर्ने भएको छ । सचिवसमेत रहुन भएको भट्टराईले अभियानमार्फत केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन तयारीमा भएको ढिलासुस्तीको विरोध गर्दै सरकरालाई सबै तहको निर्वाचनका लागि जनदबाब सिर्जना गरिने बताउनुभयो ।

अभियानकै क्रममा एमालेले प्रदेश भेला, प्रशिक्षण, अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।

You Might Also Like

0 comments