दसैँका मुखमा गाेरखाका उत्तरी भेगका १४ गाविसमा खाद्यान्नको अभा



गोरखा, १५ असोज । दसैँका मुखमा जिल्लाका उत्तरी भेगका १४ गाविसमा खाद्यान्नको अभाव भएको छ ।सदरमुकामस्थित नेपाल खाद्य संस्थानको डिपोमा चार हजार क्विन्टल खाद्यान्न मौजाद रहेपनि दुर्गमका डिपोमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन सकेको छैन ।

ढुवानी हुन नसक्दा जिल्लाका काशीगाउँ, केरौँजा, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत, छेकम्पार, उहिया, गुम्दा र लाप्राकलगायत १४ गाविसमा चामलको अभाव हुँदै आएको छ ।

दुर्गम भेगका जनताले सहुलियत दरमा चामल उपभोग गर्न पाउन् भन्दै सरकारले गुम्दाको माछाखोला र सिर्दिवासको फिलिममा खाद्य संस्थानको डिपो सञ्चालन गर्दै आएको छ । तर दसैँको मुखमा आएर डिपो रित्तै छ, सिर्दिवासकी कुमारी गुरुङले भन्नुभयो, “दसैँ आइसक्यो घरमा चामल छै, डिपोमा पनि रहेनछ ।”

एक महिनादेखि डिपो रित्तो हुँदा खाद्यान्न लिन आएका स्थानीय खाली हात घर फर्कन बाध्य भएका छन् । स्थानीय बजारमा ३० केजी चामलको रु तीन हजार ४०० पर्ने भएपछि उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीय समस्यामा परेका छन् ।

संस्थानले माछाखोला डिपोमा दुई हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि जम्मा ८४२ क्विन्टल मात्र खाद्यान्न ढुवानी गरेको थियो भने फिलिममा तीन हजार क्विन्टल ढुवानी गर्नुपर्नेमा नौ सय क्विन्टल चामल मात्रै ढुवानी भएको गोरखास्थित खाद्य संस्थानका प्रमुख टेकप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सदरमुकामको गोदाममा एक वर्षदेखि चार हजार २२ क्विन्टल खाद्यान्न थुप्रिएपनि डिपोमा ढुवानी हुन सकेको छैन् । दुर्गममा चामलको ढुवानी गर्न गङ्गाजमुना निर्माण सेवाले ठेक्का पाएपनि बाटो असजिलो भएको भन्दै खाद्यान्न ढुवानी गरेको छैन ।

खाद्यान्न ढुवानी नगरेपछि संस्थानले गङ्गाजमुना निर्माण सेवाबाट रु तीन लाख धरौटी जफत गरिसकेको छ । भूकम्पपछि अवरुद्ध मनास्लु पदमार्गमा नियमित रुपमा खच्चड सञ्चालन गर्न नसक्दा खाद्यान्न ढुवानी गर्न नसकिएको संस्थानको कार्यालय गोरखाले जनाएको छ । उत्तरी भेगमा सडकको पहुँच छैन ।

हेलिकाप्टरबाट ढुवानी गरेर भए पनि चामलको अभाव भएका क्षेत्रमा वितरण गर्नेबारे छलफल भइरहेको छ, प्रजिअ नारायण भट्टले भन्नुभयो — राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गरेर भएपनि डिपोसम्म चामल ढुवानी गर्ने तयारी भइरहेको छ ।

पोखराबाट ‘पुरुष निषेध’



पोखरा, १५ असोज- राष्ट्रिय जनसाँस्कृतिक महासंघ, कास्कीले शुक्रबार विजया दशमी, शुभ दीपावली, छठ लगायतका चाडहरुको अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले कला र साहित्यले संसारलाई बदल्न सदैव अग्रपंक्तिमा काम गरेकोे बताए । उनले अगाडी भने, “ आमा, युवाहरुको गीत, अग्निदीक्षा लगायतका कृतिहरु ज्ति पढे पनि पुरानो लाग्दैनन् ।”

प्रमुख अतिथि अधिकारीले कार्यक्रमको क्रममा नै युवा साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’ को समेत लोकार्पण गरेका छन् । उपन्यासको समिक्षा गर्दै प्राध्यापक डाक्टर यदुनन्दन उपाध्यायले उपन्यास विषयवस्तुका हिसावले उत्कृष्ट भएपनि धेरै विषयवस्तु एकै पटक उठाउँदा उपन्यास धारिलो बन्न नसकेको औंल्याए । त्यसै महिला अधिकारकर्मी सावित्री गौतमले यो पुस्तकले जैविक रुपका पुरुषलाई नभई पितृसत्तात्मक सोच राख्ने पुरुषहरुलाई निषेध गर्न खोजेको बताइन् ।

लेखक ढकालले हालसम्म पनि नेपाली समाजमा लैंगिक विभेद रहेको र पुरुषहरुले यो वा त्यो बाहानामा महिलामाथि दमन गर्ने गरेकोले यसलाई उजागर गर्न यो उपन्यास तयार गरेको बताए । कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, महासंघका प्रदेश नं. ४ संयोजक मनकुमार श्रेष्ठ, जनसंगित मञ्च नेपालका उपाध्यक्ष पद्मराज ढकाल, जनसाहित्यिक मञ्च नेपालका उपाध्यक्ष नारायण परिश्रमी, प्राध्यापक डाक्टर रविलाल अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली तथा अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, महासंघ गण्डकीका निवर्तमान सचिव सुवास मल्ल लगायतको समेत उपस्थिती थियो ।

कार्यक्रमको बीचमा भर्खर मात्र सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनबाट निर्वाचित प्रदेश नं. ४ का संयोजक तारापति सुवेदी तथा केन्द्रीय सदस्य जीवन दाहाललाई महासंघ कास्कीले बधाई ज्ञापन गर्दै सम्मान समेत गरेको थियो । कार्यक्रम महासंघ कास्कीका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता, सचिव लोकनाथ पुडासैनीको सञ्चालन तथा उपाध्यक्ष लक्ष्मी थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

‘लालजोडी’ निर्देशकले गर्ने भए ‘टुनामुना’





ताजाखबर। सञ्चारकर्मी तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदीले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘लालजोाडी’ प्रदर्शनमा आएको करिब १ महिनापछि उनले नयाँ चलचित्र ‘टुनामुना’ घोषणा गरेका हुन् ।

सुवेदीले आफ्नै कम्पनि दिलाशा क्रियशनको व्यानरमा फिल्म बनाउन लागेका हुन् । उनले भनेका छन् ,’अहिलेलाई निर्माता निर्देशक तथा लेखक सबै मै हुँ’ आफ्नै मेहनत र लगानीमा ‘टुनामुना’ बन्नेछ’ ।

यो चलचित्र एक्शन थ्रिलर जनरामा बन्नेछ । यो बर्ष नै फिल्मको छायांकन शुरु हुनेछ ।


-

हरेक वर्ष घटस्थापनाका दिन प्रकाशन हुने ‘जमरा’ यसबर्ष पनि



काठमाडौँ, १५ असोज । प्राध्यापक कुमार कोइरालाले एकीकृत उपभोक्ता सङ्घको वार्षिक प्रकाशन जमराको २१ औँ अङ्कको आज यहाँ लोकार्षण गर्नुभयो । तीनकुने सुविधानगरस्थित उक्त संस्थाले नेपालको कला, संस्कृति, धर्म, साहित्य, वेशभूषा, रहनसहनका अतिरिक्त अर्थशास्त्र, समाजशास्त्र, विज्ञान र स्वास्थ्यलगायतका विषय समेटेर हरेक वर्ष घटस्थापनाका दिन ‘जमरा’ पुस्तक प्रकाशन गर्दै आएको छ । सङ्घमा त्यस क्षेत्रका २३० घरधुरी आबद्ध छन् ।

जमराको यस अङ्कमा प्राडा कुमार कोइरालालगायत, इन्जिनियर देवशर्मा पौडेल, प्राध्यापक डिल्लीराज शर्मा र सङ्घका अध्यक्ष मदनकुमार सिवाकोटीलगायतका लेख समावेश गरिएको सङ्घले जनाएको छ ।

सङ्घले त्यस क्षेत्रका टोलमा सरसफाइसम्बन्धी जनचेतना, रक्तदान, वृक्षरोपण, स्वास्थ्य शिविरलगायतका सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।


धुर्मुसले भक्कानिँदै भने, ‘गिरौन्चौर बस्ती हस्ताण्तरण गर्न सकेनौँ’ (भिडियो सहित)

ताजाखबर। हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले सबै शूभचिन्तकसँग माफी मागेका छन् । उनले आफ्नो टिमसहित एक भिडियोमा बोल्दै माफी मागेका छन् । माफी माग्दै गर्दा उनि निकै भक्कानिएका छन् ।
बस्ती निर्माण शुरु गर्दा उनले घटस्थापनाको दिन हस्तातन्तरण गर्ने बताएका थिए, तर उक्त योजना पुरा भएन । यसकारण उनले माफी लागेका हुन् ।
भिडियोमा हेर्नुहोस् उनले यसरि मागे माफी:


पानी मुन्तिरको सबभन्दा गहिरो गुफा पत्ता लाग्यो



वार्सा, १५ असोज । पोल्यान्डका अन्वेषकहरूको एउटा समूहले पानी मुन्तिर रहेको सबभन्दा गहिरो गुफा फेला पारेको दाबी गरेको छ ।चेक गणतन्त्रको पूर्वीय नगर ह«ेनिसनजिकै रहेको तालको पानी मुन्तिर चारसय चार मिटर (एकहजार तीनसय फिट) मा विश्वको हालसम्मकै सर्वाधिक गहिराइमा रहेको उक्त गुफा फेला परेको जनाइएको छ ।

पोल्यान्डका किर्जिस्तोफ स्टार्नास्किको नेतृत्वमा गएको सो अन्वेषण टोली प्रमुखले हर्षित हुँदै अमेरिकाको एसोसिएटेड प्रेसलाई “गुफा पत्ता लाग्दा आफूलाई २१औँ शताव्दिको कोलम्बस” को अनुभूति भएको बताए ।

ह«ेनिस अबाइसको चुनढुङ्गा पाइने क्षेत्रमा अवस्थित उक्त ताल किर्जिस्तोफले १८ वर्ष अघि सन् १९९८ मै पत्ता लगाइ सकेका थिए ।

त्यस बखतको प्रयासमा गुफा फेला परेको थिएन । हाल उनले पानी मुन्तिर अन्वेषण गर्ने यन्त्र “स्कुबा” लाई पानी मुन्तिर दुईसय मिटरको गहिराइसम्म पठाई त्यस यन्त्रबाट आरओभी नामक कम्प्युटर रोबोट (अन्डर वाटर रोबोट) लाई चारसय चार मिटरको गहिराईसम्म प्रक्षेपण गरी उक्त गुफा पत्ता लगाएको समेत दाबी गरे ।

एक वर्षअघि पनि सन् २०१५ मा किर्जिस्तोफ आफैले २६५ मिटरसम्मको गहिराईमा गोता लगाई गुफा अझै गहिराईमा छ भन्ने बलियो अनुमान लगाएका थिए ।

यसभन्दा अघि इटालीको पोज्जो डेल मेर्रो विश्वको सर्वाधिक गहिराइमा रहेको गुफा भन्ने विश्वास गरिएको थियो ।

हालको अन्वेषणबाट इटालीको पोज्जो डेल मेर्रो भन्दा ह«ेनिस अबाइसको गहिराई अझ १२ मिटर (३९ फिट) गहिरो रहेको भन्ने पत्ता लागी पुरानो कीर्तिमान तोडी नयाँ कीर्तिमान कायम भएको छ । दक्षिणी पोल्यान्डको क्राकाउस्थित आफ्नो निवासबाट एपी समाचारदातासँग फोनमा कुराकानी गर्दै ४८ वर्षीय किर्जिस्तोफले बताए ।

साथै, यस अन्वेषण परियोजनाका लागि लागेको खर्चमध्ये करिब २० हजार युरो (२२ हजार चारसय चालिस अमेरिकी डलर) नेसनल जोग्राफिकले बेहोरेको खुलासा भएको छ ।

दसैँका नाममा मनमरी तरिकाले मासु नखानुहोस्, कसरी मासु खाने यस्ता छन् चिकित्सकका सुझावहरु



काठमाडौँ, १४ असोज । दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँंका समयमा अस्पतालमा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउनुहुन्छ ।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको उहाँले बताउनुभयो ।

“एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइदैन,” उहाँले भन्नुभयो । झक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘‘ दसैँमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन तर खाँदा सावधानी भने अपनाउनुपर्छ । बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ ।’’

क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उहाँको सल्लाह छ । मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भने दसैँमा खानै पर्छ भनी खसीको धेरै मासु एकै पटक नखान सल्लाह दिनुहुन्छ ।

उहाँले एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न सल्लाह दिनुभयो ।

अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिने डा भट्टराईको भनाइ छ । वरिष्ठ पोषणविद् डा अरुणा उप्रेती दसैँमा दीर्घरोगीले विशेष गरी खानपानमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

“मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ,’’ उहाँले भन्नुभयो ।