कञ्चनपुर, १९ असोज । कञ्चनपुरका ३७ मुक्त हलिया परिवारलाई चालु आवमा पुनःस्थापन गरिएको छ । भीमदत्तनगरपालिका–१ बाराकुण्डामा प्रत्येकलाई नौधुर जग्गा उपलब्ध गराई मुक्त हलिया परिवारलाई पुनःस्थापना गरिएको हो ।
प्रमाणीकरणमा परेका ‘क’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवारलाई पुनःस्थापना गरिएको भुमिसुधार कार्यालय, कञ्चनपुरका प्रमुख जानकी कार्की (मौनी) ले बताउनुभयो । “जग्गा उपलब्ध गराई पुनःस्थापन गराइएका परिवारलाई घर निर्माणका लागि पहिलो किस्ताका रुपमा रु एक लाख ५७ हजार पाँच सयका दरले रकमसमेत प्रदान गरेका छौँ”, उहाँले भन्नुभयो ।
दोस्रो चौमासिकमा बाँकी रु ६७ हजार पाँच सय रकम प्रदान गरिने उहाँले जानकारी दिनुभयो । चालु आवमा ४० परिवार मुक्तहलियालाई पुनःस्थापना गर्ने र ४५ परिवार मुक्तहलियाको घर मर्मत गर्ने लक्ष्य भूमिसुधार कार्यालयले लिएको छ । मुक्तहलियालाई घर निर्माणका लागि रु दुई लाख २५ हजार र घर मर्मतका लागि रु एक लाख २५ हजारका दरले रकम प्रदान गर्ने व्यवस्था भूमिसुधार कार्यालयले गरेको छ ।
मुक्त हलिया पुनःस्थापना समितिले लगतमा समावेश भई प्रमाणीकरणमा परेका ५२ जना मुक्त हलियालाई परिचयपत्र उपलब्ध गराउने निर्णयसमेत गरेको छ । लगतमा समावेश भएका दुई हजार पाँच सय १६ मुक्त हलियामध्ये एकहजार चारसय ७४ मुक्त हलिया प्रमाणीकरणमा परी परिचयपत्र पाएका छन् ।
परिचयपत्र पाएकामध्ये दुई सय ४५ परिवारलाई जग्गा उपलब्ध गराई पुनःस्थापना गरिएको छ । घरजग्गा भएका ८० परिवार मुक्त हलियालाई घर मर्मत रकम उपलब्ध गराइएको छ । अझै परिचयपत्र पाउनबाट एक हजार ४२ मुक्त हलिया परिवार बाँकी रहेका छन् ।
0 comments