पर्यटन प्रवर्द्धन गर्न दशबुँदे धम्पुस घोषणापत्र जारी
2:01 AM
Loading...
पोखरा, २९ असोज । अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट)को प्रवद्र्धनका लागि ‘दशबुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र’ जारी गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न शुक्रबार धम्पुसमा सो घोषणापत्र जारी गरिएको हो । नेकपा (एमाले)का नेता किरण गुरुङ, व्यवस्थापिका–संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारी, सांसद सीता गिरी ओली, एनआरएनएका वरिष्ठ उपाध्यक्ष भुवन भट्ट, समितिका अध्यक्ष दलबहादुर गुरुङले उक्त घोषणापत्रमा हस्ताक्षर गरेको थियो । घोषणापत्रमा अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटको प्रवद्र्धनका लागि एनआरएनए र समितिले संयुक्त रुपमा काम गर्ने छन् । अन्नपूर्ण क्षेत्रमा पर्ने जैविक विविधताको संरक्षण र सम्वद्र्धनमा दुवै संस्थाले संयुक्त रुपमा काम गर्दै धम्पुस, छोम्रुङ हुँदै जाने ट्रेकिङ रुटलाई एनआरएनए र समितिले आफ्नै ‘व्राण्ड’का रुपमा नाम दिएर अगाडि बढाउने छन् ।
त्यस्तै ग्रामीण पर्यटनलाई आकर्षित गरी त्यस क्षेत्रमा उत्पादन हुने वस्तुको प्रवद्र्धन गरी बाह्य पर्यटक भित्र्याउन पहल गर्ने, एनआरएन जापान र धम्पुस गाउँबीच सहकार्य गरी धम्पुसमा उत्पादन हुने स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, अन्नपूर्ण क्षेत्रमा ‘बोटानिकल गार्डेन’ र ‘जिओलोजिकल गार्डेन’ निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । एनआरएनए र नेपाली राजदूतावासको सहयोगमा अन्नपूर्ण क्षेत्रका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने, जैविक विविधता र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको बारेमा अध्ययन अनुसन्धानका लागि यस क्षेत्रलाई अगाडि बढाइने र एनआरएनएले विदेशमा रहेका संस्थाले प्रतिव्यक्ति तीनजना पर्यटकलाई नेपाल घुम्नका लागि आह्वान ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
सो अवसरमा नेता गुरुङले एनआरएनएले अन्नपूर्ण क्षेत्रको विकासमा देखाएको चासोको प्रशंसा गरे । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति अधिकारीले अन्नपूर्ण क्षेत्र नेपालको पर्यटन प्रवद्र्धनको मुख्य आधार केन्द्रको रुपमा रहेको बताए । एनआरएनएका वरिष्ठ उपाध्यक्ष भट्टले यस क्षेत्रको ट्रेकिङ रुटको प्रवद्र्धनका लागि धम्पुस घोषणापत्र कोसेढुङ्गा सावित हुने विचार व्यक्त गरे ।
सो अवसरमा अशोक सुवेदी र श्रीकान्त खतिवडाले ‘अन्नपूर्ण क्षेत्रको पर्यटनको सम्भावना र चुनौती’ विषयको कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा पोखरामा रहेका विभिन्न पर्यटन प्रवद्र्धनमा आबद्ध सङ्घसंस्थाको सहभागिता थियो । रासस
0 comments