Health & Sickness | DR. HARISH JOSHI (Dental Surgeon) | Dr. Kurt | WATCH VIDEO NEWS

9:43 AM

Loading...



मुख र दाँतको समस्याबारे डा. दिलजान मंसूरले डा. हरीश जोशीसँग गरेको कुराकानी :
पछिल्लो समय मिडिया, सामाजिक सञ्जालका कारण मानिसहरु दाँतको सौन्दर्यबारे जानकारी राख्न थालेका छन् । दाँतको सौन्दर्य मुखको सौन्दर्यसँग जोडिएकाले मानिसहरु मुख सफाइ वा स्वच्छताप्रति पनि बढी सजग भएको पाइन्छ ।

दाँत र मुखको समस्या निकै ठूला समस्या हुन्, यो मानिसको व्यक्तित्वसँग पनि जोडिएको हुन्छ । व्यक्ति जतिसुकै सुन्दर भए पनि दाँत सुन्दर भएन भएन भने व्यक्तिको सुन्दरतामा केही न केही ह्रास आउँछ । हाँस्दा सफा दाँतहरु देखिन्छन् भने व्यक्तिको मुहारमा अर्कै रंग आउँछ ।

अहिले मानिसहरुले नै दाँत र मुखको स्वास्थ्य र सौन्दर्यमा चासो दिन थालेका छन् । पछिल्लो समय मानिसहरु फोनमा बोल्दा पनि स्वास्थ्यबारे सोधपुछ गर्छन् । सामान्यतः हामीले श्वास फेर्दा गन्ध आउनुलाई नै मुख गन्हाउने भनिन्छ । आफैँले पनि दुवै हत्केलामा श्वास फेर्दा गन्हाएको महसुस गर्न सकिन्छ । श्वास गन्हाउने विभिन्न कारण हुन्छन् । पहिलो, शारीरिक कारण पनि हुन्छ ।

अर्को, मानिसले गन्ध आउने खाना लसुन, प्याज खाँदा पनि श्वासमा गन्ध आउँछ । यो मुखमा रहेन अस्थायी गन्ध हो । त्यस्तै, धुम्रपान गर्नेहरुको मुख गन्हाउँछ, यो गन्ध बेग्लै प्रकारको हुन्छ । त्यस्तै, दाँत नमाझ्ने वा मुखको सरसफाइ नगर्नेहरुको पनि मुख गन्हाउँछ ।

जोगिने उपाय

दिनमा दुईपटक ब्रस गर्नु अनिवार्य हुन्छ । बिहान मात्रै दाँत माझ्नु त्यति तार्किक होइन । किनभने, साँझ खाएको खाना झन्डै आठ घन्टा हाम्रो दाँतमा अड्कन्छ । यो अवधि खाद्य पदार्थ मुखमै सड्नका लागि प्रशस्त हो । सधैं यो प्रक्रिया दोहोरिएपछि गिँजा खराब हुने, दाँत कीराले खाने समस्या आउँछ । दाँतमा लामो समय खाना अड्केपछि कुहिन्छ र ब्याक्टेरिया बन्न थाल्छ । ब्याक्टेरियाले गिँजाको मासुलाई नष्ट गर्न थाल्छ । बिस्तारै गिँजामा संक्रमण हुन्छ, सानो धक्काले पनि रगत निस्कन थाल्छ, अनि मुख गन्हाउने हुन जान्छ ।

त्यसैले यदि राति सुत्ने बेला ब्रस गर्ने हो भने मुखको समस्याबाट जोगिन सकिन्छ । साँझमा अड्केको खाना धागोले निकालेर नुन राखेको मनतातो पानीले कुल्ला गर्नुभयो भने पनि धेरै फाइदा हुन्छ । दिनमा दुईपटक ब्रस गर्दा मुख र दाँतका धेरै समस्याबाट जोगिन सकिन्छ ।
मुख नगन्हाउने समस्यामा व्यक्ति आफैँ पहिलो चिकित्सक हो ।

त्यसपछि मुख र दाँतसम्बन्धी डाक्टर आवश्यक हुन्छ । किनभने, व्यक्ति आफैंले पनि मुखलाई सफा र स्वस्थ राख्न सक्छ । व्यक्तिले सामान्य ध्यान पुर्याउन सक्यो भने मुख र दाँत सफा राख्न सक्छ । अहिलेको इन्टरनेटको जमानामा व्यक्तिले धेरै नै जानकारी लिन सक्छ ।

दाँत माझ्ने तरिका

दाँत माझ्ने वा ब्रस गर्ने पनि विधि हुन्छ । ब्रसलाई तल–माथि चलाएर गर्ने । दाँतको भित्रको भागमा पनि ब्रस पुर्याउने । धेरै दबाब नदिने । जबर्जस्त ब्रस गर्दा पनि गिजालाई धेरै नै बिगार्न सक्छ । ब्रस किन गर्ने भन्ने कुरा पनि बुझ्नुपर्छ । मुखमा अड्केको खाना निकाल्ने नै हो । कतिपय अवस्थामा राम्रोसँग कुल्ला गर्दा पनि मुख सफा राख्न सकिन्छ ।

सकेसम्म बेलुका खाना खाइसकेपछि ब्रस गर्यौं र बिहान ब्रेक फास्टपछि ब्रस गर्यौं भने मुख सफा राख्न सकिन्छ । योसँगै केही खाइसकेपछि मुख राम्रोसँग कुल्ला गर्नुपर्छ, ताकि दाँतमा अड्केको खाना निस्किओस् । हामीले दाँत चम्काउन मात्रै ब्रस गर्ने होइन । दाँतमा अड्किएका खाद्यपदार्थ निकाल्न र चिया–कफी, चिल्लो–अमिलो, गुलियो–पिरो र विभिन्न पदार्थ पखाल्न पनि ब्रस गर्ने हो ।
दाँतमा खाना अड्कँदा सिन्काले घोँच्नु राम्रो हुँदैन । किनभने, यसले गिँजालाई बिगार्न सक्छ ।
०००
यात्रामा जाँदा बीचबाटोमा खाँदा पनि हामी प्रायःले कुल्ला गर्दैनौं । त्यस्तै, गाउँठाउँमा त दाँत नमाझ्ने, खानापछि कुल्ला नगर्ने धेरै छन् । यसो गर्दा मुखका धेरै समस्या आउँछन् । डेन्टल ओरल हाइजिङ अर्थात् दाँत, मुखको सफाइलाई हामीले प्राथमिकता दिएनौं । किनभने मान्छे दाँत दुखेर मर्दैन । त्यति ठूलो अप्ठेरो पनि आउँदैन । तर, दाँत दुखेपछि धेरै मुखका समस्या आउँछन् भन्नेमा हामी सतर्क हुनैपर्छ ।

दाँत सिरिंग हुने

हाम्रो दाँतको जुन बनावट छ । त्यसको बाहिरी भाग इनामेल तह, अर्थात् दाँतको बाहिरी सेतो तह, जो बलियो भाग हो, बलियो हुँदाहुँदै पनि यो विविध कारणले खिइँदै जान्छ । इनामेल तह खिइएपछि दाँतको अर्को कमजोर तह आउँछ । त्यो अलि बढी संवेदनशील भाग हो । त्यसपछि दाँत सिरिंग हुने समस्या हुन्छ ।

इनामेल खिइने कारण

हामी कहाँ ब्रस गर्नका लागि ब्रस किन्छौं । हाम्रो दाँतको प्रकृति अनुसारको नरम, कडा वा मध्यम खालको ब्रस किन्नुपर्नेतिर ध्यान दिँदैनौं । र, अझ कति त दबाब दिएर ब्रस गर्छौं । यसले पनि इनामेल तह खिइन्छ । अर्को, सुपारी, छुर्पीहरु जस्ता कडा चिज खाँदा पनि दाँतको बाहिरी भाग खिइन्छ । यसरी खिइँदै जाँदा दाँतको संवदनशील भाग आउँछ, जुन भागलाई चिसो छुन सक्छ । त्यसो हुँदा दाँत सिरिंग हुने, डराउने, दुख्ने हुन जान्छ । चिसो खाँदा मात्रै होइन, चिसो हावा घुस्दा पनि दाँत सिरिंग हुन्छ । पछि गएर तातोले पनि दाँतको त्यो संवेदनशील भागलाई असर गर्न सक्छ ।

मुखभित्रका समस्या

मुखभित्र दाँत, गिँजा, जिब्रो छ । कुनै एउटाको समस्या अर्कोसँग जोडिएको हुन्छ । अखाद्यवस्तु वा धुम्रपानको सेवनले मुखभित्र समस्या उत्पन्न गर्छन् । यदि दाँत खिइन्छ, कीराले खान्छ भने त्यही बेला त्यसले गिँजामा पनि संक्रमण गरिरहेको हुन्छ । त्यसपछि गिँजा सुनिन्ने, रगत आउने हुन जान्छ ।

मुख सफा वा स्वस्थ भएर मात्रै हुँदैन, पोषणतत्व वा भिटामिन कमीका कारण पनि गिँजाबाट रगत आउँछ । यसले पछिल्लो समय मुखकै क्यान्सर पनि बढाएको छ । मुखमा सेतो, रातो दागहरु देखिने र लामो समय रहने वा बढ्दै जाने, मुखभित्रका घाउ विकसित हुने यसले पछि क्यान्सर हुने सम्भावना हुन्छ । मुखको सफाइ भएन भने यस्ता विभिन्न समस्या आउन थाल्छ ।

सुर्तीजन्य पदार्थ र अल्कोहलले पनि मुखको समस्या आउन सक्छ । धुम्रपानले मुखको तापक्रममा पनि परिवर्तन ल्याउँछ । धुम्रपान, सुर्तीजन्य पदार्थका कारण हर्मोनहरु असन्तुलन हुन जान्छन् । जसले मुखमा र्याल वा थुक कम गराउँछ । जसकारण पनि मुखका समस्या उब्जन्छन् ।


You Might Also Like

0 comments